काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि नेपालमा सुरक्षित र अनुकूल लगानी वातावरण बनाउनु आवश्यक भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र विद्युत उत्पादकहरुको संस्था (इप्पान) को २३औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै देउवाले लगानीकर्तालाई सहज प्रक्रिया अपनाएर लगानी गर्न सक्ने वातावरण तयार गर्न सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले भने, “उत्पादित विद्युतको खपत र व्यापार गर्ने जिम्मेवारी सरकारको हो, तर यसमा निजी क्षेत्रको समेत सक्रिय सहभागिता आवश्यक छ। लगानीकर्तालाई असहज बनाउने हैन, प्रोत्साहित गर्ने नीति हुनुपर्छ ।”
सेयर निष्कासन प्रक्रिया रोकिएकोबारे सुनेको उल्लेख गर्दै देउवाले त्यसप्रति असन्तुष्टि जनाए । “सेयर निष्कासन रोकिएको कुरा सुनेँ, तर यस्तो गर्नु हुँदैन। धितोपत्र बोर्डले चाँडै प्रक्रिया अघि बढाउनेछ भन्ने अपेक्षा छ,” उनले भने ।
देउवाले ऊर्जा क्षेत्रलाई नेपालको विकासको मेरुदण्डका रूपमा चित्रण गर्दै हरित ऊर्जामा केन्द्रित लगानी र विकासमा जोड दिनुपर्ने बताए। “ऊर्जा नेपालका लागि प्रकृतिको महत्वपूर्ण उपहार हो। यसको अधिकतम उपयोग गर्न सक्नुपर्छ,” देउवाले उल्लेख गरे ।
त्यसैगरी, उनले विगतका आर्थिक तथा सामाजिक उपलब्धिहरू उदार आर्थिक नीति र निजीकरणको मार्गदर्शनमा प्राप्त भएको भन्दै त्यही नीति निरन्तर अघि बढाउनुपर्ने धारणा राखे ।