काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका ‘संवाद सचिव’ फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, पाठकले नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजधिराज’ भन्ने संबोधन प्रयोग गर्दै आएको र त्यस्तै, संविधानमा नभएको ‘संवाद सचिवालय’ को नामबाट सूचना प्रकाशन गर्ने गरेको विषयमा सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको हो ।
पाठकले वैशाख १३ गते एक समवेदना सन्देश सार्वजनिक गर्दा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सिएको’ भनी उल्लेख गरिएको थियो । यस्तै प्रकारका गतिविधि संविधान र कानुनी व्यवस्था विपरीत रहेको भन्दै आलोचना हुँदै आएको छ ।
यो घटनाप्रति संघीय संसद्मा समेत प्रतिक्रिया आएको थियो । नेकपा एमालेका सांसद ठाकुर गैरेले संसदमा बोल्दै यसलाई संविधानको उल्लंघन भनेका थिए । उनले भनेका थिए, ‘नेपालको संविधानमा ‘श्री ५ महाराजधिराज’ भन्ने शब्द छ कि छैन ? कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? यदि नपाइने हो भने संवाद सचिव पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गरियोस्।’
प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।
























