काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा उक्लिएको छ। अघिल्लो दिन बुधबार २२.०४ अंकले वृद्धि भएर परिसूचक २७०५.९० विन्दुमा पुगेको थियो।
साताको पहिलो कारोबार दिन आइतबार सामान्य अंकले बढेको नेप्से त्यसपछिका दुई कारोबार दिन सोमबार र मंगलबार निरन्तर घटेको थियो।
आज नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ। आज ३१२ स्क्रिप्सको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ७ अर्ब ४५ करोड बराबरको सेयर कारोबार भएको थियो।
नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। माइ खोला हाइड्रोपावरको सेयर सर्वाधिक ८.१५ प्रतिशतले बढ्यो।मान्डु हाइड्रोपावर,समता घरेलु लघुवित्त वित्तिय संस्था र भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर ६ प्रतिशतले बढीले बढ्यो।
कर्पोरेट डेभलपमेन्ट बैंकको लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो बैंकको सेयर ९.९२ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी बुटवल पावरले ३२ करोडको सेयर कारोबार गर्दा सानिमा बैंकको २६ करोड,सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये १६१ स्टक्सको मूल्य बढ्दा ८७ वटाको घट्यो। दुई समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.०२ प्रतिशतले बढ्यो ।

























