काठमाडौं । लामो समयदेखि थाँतीमा परेको काठमाडौं महानगरपालिकाको बजेट प्रक्रिया अन्ततः अघि बढ्ने संकेत देखिएको छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका छन् ।
महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार, कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोलको नेतृत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक पनि आयोजना हुनेछ ।
यी चरणहरू पूरा भएपछि दिउँसो २ बजे कार्यपालिका बैठक बसेर आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम र बजेट नगरसभामा पेस गर्ने निर्णय लिने तयारी गरिएको हो ।
यसअघि मेयर बालेन र प्रमुख कार्यकारी अधिकृतबीच देखिएको असमझदारीका कारण संविधानले तोकेको समय (असार १०) मा काठमाडौं महानगरपालिकाले बजेट ल्याउन सकेको थिएन । अब भने प्रक्रिया औपचारिक रूपमा अघि बढ्दैछ।

























