काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि भिजिट भिसाको दुरुपयोग गरेको गम्भीर आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा मन्तव्य दिँदै गृहमन्त्री लेखकले लामिछाने अमेरिका जाँदा कुन भिसामा गएका थिए भन्ने विषयमा स्पष्ट जानकारी दिन रास्वपालाई आग्रह गरे ।
“रवि लामिछाने कुनै समय संयुक्त राज्य अमेरिका जानुभएको थियो भन्ने सुनिएको छ,” गृहमन्त्रीले भने, “उहाँ भिजिट भिसामा जानुभएको हो कि होइन ? यदि हो भने, के भिजिट भिसामा गएर उतै बस्ने र त्यही देशको नागरिकता लिन पाइन्छ ?”
लेखकले थप प्रश्न गर्दै भने, “यदि भिजिट भिसामै गएर उतै नागरिकता लिएको हो भने, त्यो भिसाको दुरुपयोग हो कि होइन ?”
उनले रविको विगतमा भएको भनिएको भिसा दुरुपयोगबारे चित्तबुझ्दो जवाफ नआउँदासम्म रास्वपाका सांसदहरूले अरूलाई नैतिकताको पाठ पढाउने नैतिक अधिकार नरहेको तर्क गरे ।
“भिजिट भिसाको दुरुपयोग गर्ने नेताको पार्टीका कार्यकर्ताहरूले अरूलाई धेरै नैतिकताको कुरा पढाउन मिल्छ त ?” गृहमन्त्री लेखकले प्रश्न गरे, “नैतिकताको मापदण्ड अरूलाई मात्र होइन, पहिले आफूलाई पनि लागू गर्नुपर्छ ।”
उनको यो अभिव्यक्तिपछि सदनमा रास्वपाका नेताहरूले कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने चासो थपिएको छ ।