रुपन्देही । नेपाली कांग्रेसले २०७९ सालको संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको हारमा भूमिका खेलेको अभियोगमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टी सदस्यताबाट एक वर्षका लागि निष्कासन गरेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले दिएको जानकारी अनुसार खनालले नवलपरासी क्षेत्रका प्रतिनिधिसभा उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेललाई असहयोग गरेको उजुरीको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको हो।
अनुशासन समितिका सभापति आनन्दप्रसाद ढुंगानाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमा असार १७ गते बसेको बैठकको निर्णयअनुसार खनालले दिएको स्पष्टिकरण चित्तबुझ्दो नदेखिएको उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ, “नवलपरासीको बर्दघाट नगरपालिका–१० निवासी नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनालले २०७९ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेका थिए। यस सम्बन्धमा उनको स्पष्टिकरण सन्तोषजनक नभएकाले कांग्रेसको विधान २०१७ (संशोधित) धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) अनुसार उनलाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरिएको हो।”
यस विषयले असार १६ गते सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा समेत प्रवेश पाएको थियो। कारबाहीको सूचना पाएपछि महामन्त्री खनालले जिल्ला स्तरमा पत्रकार सम्मेलन गरी उक्त निर्णयको विरोध जनाएका छन्।