काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू नफर्किएको आफूले नभनेको स्पष्टिकरण दिएकी छिन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीसँगै गएको होइन, सो कार्यक्रममा सहभागी हुने बहानामा गएर केही मानिस नफर्किएको आफूले भनेको दावी गरेकी छिन् ।
‘सभामुख महोदय यही विषयमा हिजो मैले बोलेको कुरा संसदबाट हटाउन समेत माग भएको रहेछ, पछि थाहा भयो, प्रधानमन्त्रीको सचिवालयबाट चुनौती पनि दिएको रहेछ । केही माननीयहरुले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ । रास्वपा जिम्मेवार पार्टी हो । मैले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरु फर्किएनन् भनेको छैन । राम्रोसँग कान खुलेर सुन्नुहोस् ।’ सोविताले भनेकी छिन् ।
प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा अरु धेरै नेपाली पनि गएको र नेपाल नफर्किएको दाबी गर्दै उनले भनेकी छिन् “मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु, यो सत्य हो, प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल पर्किनुभयो । तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानु भएको कार्यक्रममा सयौँ नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । प्रधानमन्त्री जानु भएको स्पेनको कार्यक्रम निकै ठूलो कार्यक्रम हो । दशौं हजार सहभागी हुन्छन् । नेपालबाट केही कार्यक्रममा गएर नफर्किएको पनि साँचो हो ।’
तर उनले सो कार्यक्रममा सहभागी हुन गएर कोको फर्किएनन् भन्न अझै सकेकी छैनन् ।