काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक सबै पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेका छन् ।
बाढीबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत, उद्धार र सहायता पुर्याउन सरकार युद्धस्तरमा लागिरहेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीप्रति चिन्ता व्यक्त गर्दै उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउने निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘तिब्बतको सीमावर्ती क्षेत्रमा परेको भीषण वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितहरूलाई उद्धार गर्न सरकार युद्धस्तरमा खटिएको छ।’
उनका अनुसार केही नागरिकले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन्। भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले सुरक्षा निकायहरूसँग नियमित रूपमा उद्धार कार्यबारे रिपोर्टिङ लिइरहेको उल्लेख गर्दै थप लेखेका छन्, ‘विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ। सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भन्ने स्पष्ट निर्देशन दिइएको छ।’
प्रधानमन्त्रीले उद्धार, राहत तथा पुनःस्थापनाका काममा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै नागरिकसँग समेत एकजुट भई साथ दिन आह्वान गरेका छन्।
प्रधानमन्त्री आज एमालेको केन्द्रीय कृषि तथा पशुपन्छी विकास विभागद्वारा आयोजित नीति संवाद र नेपाल उद्योग परिसंघको २२औँ साधारण सभा सहभागी हुने कार्यक्रम तय भएको थियो । यी दुई कार्यक्रम स्थगित गरेका छन् ।
























