काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै आज पनि संघीय संसद्को बैठक बहिष्कार गरेका छन् ।
लगातार संसद् अवरोध गर्दै आएका दुबै दलले गृहमन्त्रीको राजीनाबिना बैठक सञ्चालन हुन नदिने अडान लिएका छन् ।
सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरे पनि रास्वपाले उक्त समिति अस्वीकार गरेको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणसँगै संघीय निजामती सेवा सम्बन्धी विधेयक पारित गर्ने क्रममा भएको गडबडीबारे पनि छुट्टै छानबिनको माग गर्दै आएको छ ।
संसद् अवरोधसँगै सरकार र प्रतिपक्षबीच विवाद चर्किँदै गएपछि प्रतिनिधिसभाको कामकाज प्रभावित बनेको छ ।
























