काठमाडौँ । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको चिकित्सकीय लापरवाहीसम्बन्धी फैसलाप्रति असहमति जनाउँदै आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ।
संघले असार १७ गतेदेखि नै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कालोपट्टी बाँधेर विरोध जनाउन आह्वान गरेको थियो। आजदेखि भने आन्दोलन थप कडा बनाउँदै आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो।
आन्दोलनका कारण उपचारका लागि अस्पताल आएका बिरामीहरू समस्यामा परेका छन्। विशेषगरी टाढाबाट राजधानी आएका बिरामीहरूलाई बढी मार परेको छ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि ओपीडी सेवा बन्द हुँदा बिरामीहरू अलमलमा परेका छन्। कतिपय बिरामी पहिले नै समय लिएर रिपोर्ट देखाउन वा नियमित परीक्षणका लागि आएका थिए। तर, सेवा नपाउँदा उनीहरू उपचारविहीन अवस्थामा फर्किनुपर्ने बाध्यता छ।
आफन्तसहित आएका बिरामीहरूलाई खानपान र बसोबासको समेत समस्या देखिएको छ। आन्दोलन कहिलेसम्म चल्ने भन्ने अन्योल कायम रहेकाले सेवाग्राही थप चिन्तित भएका छन्।



















