काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच स्पेनमा भेटवार्ता भएको छ ।
उनीहरूबीचको भेटवार्ता सोमबार स्पेनको सेभिया शहरमा भएको हो । प्रधानमन्त्री ओली ‘विकासको लागि वित्त’ (Financing for Development) विषयक संयुक्त राष्ट्रसंघद्वारा आयोजना गरिएको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन पुगेका छन् ।
दश–दश वर्षको अन्तरालमा आयोजना गरिने यो सम्मेलन संयुक्त राष्ट्रसंघको महासभाजस्तै उच्चस्तरीय मानिन्छ, जहाँ सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरूको उपस्थिति रहन्छ । यही अवसरमा प्रधानमन्त्री ओली र महासचिव गुटरेसबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो ।

























