काठमाडौं । सक्रिय राजनीतिमा पुनः फर्किने घोषणा गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् ।
शीतल निवास छाडेर निजी निवास फर्किएपछि उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने धेरैजसो सेवासुविधा पहिले नै नलिने निर्णय गरिसकेकी थिइन् । अब बाँकी रहेको सेवासुविधा पनि आगामी १ साउनदेखि लागू हुने गरी फिर्ता गर्न गृहमन्त्रालयमा पत्र पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
हाल सरकारले पूर्वराष्ट्रपति भण्डारीका लागि दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा तथा इन्धन खर्च बेहोर्दै आएको छ । यद्यपि, उनले शीतल निवास छाडेपछि गाडीको सुविधा नलिए पनि अन्य खर्चहरुमा सरकारी सहयोग लिँदै आएकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच एमालेको पार्टी सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा पुनः सक्रिय हुने औपचारिक जानकारी गराएकी थिइन् ।
























