काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गरेका छन् । संघीय निजामती सेवा सम्बन्धी विधेयक पेश र पारित गर्ने कार्यसूची रहेको आजको बैठकलाई लक्षित गर्दै सभामुखले सहमति र सहकार्यको वातावरण बनाउन आग्रह गरेका हुन् ।
छलफलका क्रममा सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संसदीय प्रक्रियामा सहभागी हुन आग्रह गर्दै भने, “महत्त्वपूर्ण विधेयकमाथि संसदका प्रमुख दलहरूको सहभागिता नहुनु राम्रो संकेत होइन । निजामती सेवा, शिक्षा लगायत संघीयतासँग सम्बन्धित विधेयकमाथिको छलफलमा सबै दल सहभागी हुने वातावरण बनाउनुहोस् ।”
तर, सभामुखको आग्रहपछि पनि राप्रपा र रास्वपाले आफ्नो अडान यथावत् राखेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामाको माग गर्दै यी दुई दलले संसद अवरुद्ध गरिरहेका छन् । साथै, घटनाको छानबिनका लागि सरकारले गठन गरेको शंकरदास वैरागी नेतृत्वको समिति पनि उनीहरूले अस्वीकार गरेका छन् ।