काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले आज (आइतबार) पार्टी पदाधिकारीहरूको बैठक बोलाएको छ । बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा बस्नेछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमा छलफल गर्नेछ ।
मुख्यसचिव पौडेलले भने, ‘‘भोलि असार १६ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका तयारी र एजेन्डासम्बन्धी विषयमा पदाधिकारीहरू छलफल गर्दै हुनुहुन्छ।’’
यसअघि फागुन १ गते बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पार्टीका भ्रातृ संगठनहरू—तरुण दल, नेविसंघ, महिला संघ, थारु संघ, किसान संघ र लोकतान्त्रिक खेलकुद संघलाई चैत मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो । तर हालसम्म तीमध्ये कुनै संगठनले पनि अधिवेशन गर्न सकेका छैनन् ।
सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा भ्रातृ संस्थाहरूका तदर्थ समितिहरूको पदावधि थप्ने कि भंग गर्ने भन्ने विषयमा निर्णय गरिने कांग्रेस स्रोतले जनाएको छ ।
त्यससँगै हालको सरकारको कामकारबाही, बजेटप्रति देखिएको असन्तुष्टि लगायत विषयमा पनि बैठकमा विस्तृत छलफल हुने तयारी गरिएको छ ।
























