काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महामन्त्री र केन्द्रीय सदस्यको पदबाट निष्कासित डा. मुकुल ढकालले आफूलाई पुनः पार्टीको महामन्त्रीको रुपमा कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीका रूपमा कायम रहेको विवरण यथावत राख्नुपर्ने र पार्टीभित्र पनि सो पदमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको प्रारम्भिक सुनुवाइ भइरहेको छ ।
उनले भने, ‘पार्टीले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता नियुक्त गरेको छ, तर आयोगको अभिलेखमा अझै म नै महामन्त्री र प्रवक्ता भनेर उल्लेख गरिएको छ । त्यो अभिलेख परिवर्तन नगरियोस् भन्ने माग गर्दै अदालत गएको हुँ ।’
उनले रास्वपा, पार्टीको केन्द्रीय कार्यसमिति, सभापति रवि लामिछाने, नयाँ महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई विपक्षी बनाएका छन् ।
सर्वोच्चले मुकुलको उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्न बिहीबारका लागि पेसी तोकेको छ ।
गत साता निर्वाचन आयोगले ढकालको नै पार्टीको आधिकारिक महामन्त्री रहेको विवरण दिएको पत्र सार्वजनिक भएपछि रास्वपाले तत्काल बुर्लाकोटी र झालाई क्रमशः महामन्त्री र प्रवक्ताको जिम्मेवारी दिएको विवरण आयोगमा पठाएको थियो ।
























