काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय संसदको प्रतिनिधि सभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको मन्त्रीहरूबाट प्राप्त हुने जवाफ बहिष्कार गरेका छन् ।
दुवै दलले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको अवरोधका बीच बैठक सञ्चालन भइरहे पनि रास्वपाका सांसदहरू वेलमा उभिएर विरोध जनाउने कार्य गर्दै आएका थिए ।
सोमबारको बैठकमा मन्त्रीहरूले सांसदहरूको प्रश्नको उत्तर दिने कार्यसूची रहेको थियो। तर, सभामुखले मन्त्रीहरूलाई जवाफ दिन आग्रह गरेलगत्तै रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरे । राप्रपाका सांसदहरू भने सोही कार्यसूची अघि नै बहिर्गमन गरिसकेका थिए।
बैठक बहिष्कार गर्नु अघि रास्वपाका सांसद शिव नेपालीले संसदमा बोल्दै भने, “जनताको मुद्दा उठाउनु हाम्रो अपराध होइन, तर भिजिट भिसाको नाममा युवालाई विदेशमा बेच्नु गम्भीर अमानवीय अपराध हो। यस्तो अवस्थामा सरकारले मौन बस्नु चिन्ताजनक छ ।”
उनले प्रश्न गरे, “सरकार किन अपराधीलाई जोगाउन खोजिरहेको छ? के सरकार र आपराधिक गिरोहबीच कुनै साँठगाँठ छ?”
नेपालीले आफूहरू कुनै पार्टी वा नेताको विरोधमा नभइ मानव तस्करी, कुशासन र भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए । भिजिट भिसा काण्डमा गृह मन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गर्दै उनले संसदीय वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको आवश्यकता औंल्याए ।
उनले आफ्ना मागहरू सुनुवाइ नभएकाले मन्त्रीहरूको जवाफ नबुझ्ने निर्णय गरेको स्पष्ट गरे । त्यसपछि सांसदहरू सभाकक्षबाट बाहिरिएका थिए ।