काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदहरूले बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।
प्रतिपक्षी सांसदहरूलाई सुनिरहेको रास्वपा, नेपाली कांग्रेस र एमालेका सांसदहरूको पालो आउँदा बैठक छाडेर बाहिरिएको हो ।
यसअघि शनिबारको बैठकमा पनि रास्वपाले यस्तै व्यवहार दोहोर्याएको थियो । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, सत्तापक्षको दुई तिहाइको दम्भ नसुन्ने अडानका कारण बहिष्कार गरिएको हो ।
भिजिट भिसा प्रकरणमा छानबिनको माग राख्दै रास्वपा २६ दिनदेखि निरन्तर आन्दोलनमा छ। तर, संसदमा उनीहरूको अवरोधलाई बेवास्ता गर्दै सभामुखले नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गरिरहेका छन् ।
संसद विवेक र नैतिकताले चल्नुपर्छ, सरकार सर्कसजस्तो देखिन्छ : सांसद असिम साह
वैठकको शुरुमै बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले संसदलाई विवेक र नैतिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताएका थिए ।
पछिल्लो एक महिनादेखि संसदमा केवल ‘राजनीतिक नाटक’ देखिएको टिप्पणी गर्दै उनले विदेशमा पसिना बगाइरहेका नेपाली युवाहरूको दुःखलाई स्मरण गर्दै, रोजगारीको खोजीमा उनीहरू मरुभूमिमा पुगेको अवस्था जनप्रतिनिधिहरूको असफलताको परिणाम भएको बताएका थिए ।
उनले देशमा लुटतन्त्रको ‘सिन्डिकेट’ मौलाएको आरोप लगाउँदै भनेका थिए, ‘कहिले भुटानी शरणार्थी प्रकरण, कहिले ललिता निवास, कहिले सुन तस्करी, वाइडबडी काण्ड र कहिले विमानस्थल निर्माणमा भ्रष्टाचार — हरेक प्रकरणले राज्य व्यवस्थामै गम्भीर प्रश्न उठाएको छ ।’
साहले भिजिट भिसा प्रकरणमा सरकार उदासीन देखिएको भन्दै आक्रोश व्यक्त गरे । ‘सरकार मूकदर्शक बनेको छ । संसदभन्दा सर्कस चलिरहेको जस्तो अनुभव हुँदैछ’ उनले कटाक्ष गरे । उनले आफ्नो पार्टीका माग पूरा नभएसम्म संसदमा विरोध जारी हुने बताए पछि रास्वपाका सांसद वेल घेराउ गर्न पुगेका थिए ।

























