काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) को टोलीले शुक्रबार दिउँसो काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको हो ।
सीआईवीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार अमला रोका प्रहरी अनुसन्धानको लामो समयदेखि फरार सूचीमा रहेकी थिइन् । रेड कर्नर नोटिस समेत जारी गरिएकी उनलाई विदेशतिर भागेको आशंका गरिँदै आएको थियो । तर उनी टोखामा फ्ल्याट भाडामा लिएर सतर्कताका साथ बसिरहेको अवस्थामा फेला परेकी हुन् ।
अमला रोका सुन तस्करी अभियोगमा पहिले नै पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङको श्रीमती हुन् । प्रहरी अनुसन्धानका अनुसार, दम्पती सुन तस्करीको योजनामा संग्लन थिए । ठमेलमा रहेको होटल भियना अमलाकै नाममा दर्ता छ र त्यहीँबाट उनीहरू व्यवसाय सञ्चालन गरिरहेका थिए । उक्त होटलमा उच्च प्रहरी अधिकारीहरूको समेत नियमित आवतजावत हुने गरेको अनुसन्धानमा खुल्न आएको छ ।
सुन तस्करी प्रकरण २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक–शु भित्र सुन लुकाएर ल्याइएको सूचनाको आधारमा खुलासा भएको थियो । जाँच पास गरेर छुटेको ब्रेक–शु नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुन बरामद गरिएको थियो ।
उक्त सामान रेडी ट्रेड प्रालि नामक कम्पनीले चीनबाट मगाएको थियो, जसको दर्ता दिलिप भुजेलको नाममा रहेको देखिएको थियो । प्रारम्भिक अनुसन्धान राजस्व अनुसन्धान विभागले सुरु गरे पनि पछिल्लो अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो ।
प्रकरणमा दावालाई राजस्व अनुसन्धान विभागले २०८० साउन १४ गते पक्राउ गरिसकेको छ भने अमला भने फरार थिइन् । अमला माओवादी केन्द्रको रोल्पा(काठमाडौँ सम्पर्क मञ्चकी पूर्व उपाध्यक्षसमेत हुन् ।
अमलाको संलग्नताबारे पर्याप्त प्रमाण भेटिएकाले उनीविरुद्ध पहिल्यै अभियोगपत्र दायर भइसकेको र अब उनलाई सिधै अदालतमा पेस गरिने सीआईबीले जनाएको छ । प्रहरीका अनुसार उनलाई यही आइतबार अदालतमा उपस्थित गराइनेछ ।

























