काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रियसभा र स्थानीय तहमा रिक्त रहेका पदहरूमा निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरूले प्रधानमन्त्री ओलीलाई कात्तिक महिनाको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्तावबारे जानकारी गराएका हुन् ।
उक्त परामर्शमा प्रतिनिधिसभाको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ (२) का रिक्त पदमा उपचुनाव यही असार १६ गतेभित्र मिति तय गरेर गरिने तयारी गरिएको आयोगले जनाएको छ। साथै, आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ स्थानमा पनि निर्वाचन गर्नुपर्ने आयोगको प्रस्ताव रहेको छ ।
साथै, स्थानीय तहका १३ वटा वडाध्यक्ष पद पनि रिक्त रहेको जानकारी दिँदै आयोगले ती स्थानमा समेत उपनिर्वाचन गरिने तयारी भइरहेको जनाएको छ।
प्रधानमन्त्री ओलीले आयोगले अघि सारेका निर्वाचन तयारीको प्रक्रिया सहज बनाउन सरकारबाट आवश्यक सहयोग प्रदान गरिने आश्वासन दिएका छन्। साथै, आगामी आवधिक निर्वाचनका लागि पनि आवश्यक तयारी थाल्न आयोगलाई सुझाव दिएका छन् ।
भेटमा आयुक्तहरू डा. जानकीकुमारी तुलाधार, सगुन शम्शेर जबरा, तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च पदस्थ अधिकारीहरू पनि सहभागी थिए ।