काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा दर्ता भएका महत्वपूर्ण विधेयकहरू पारित गराउने विषयमा सरकार गम्भीर नदेखिएको भन्दै कडा आलोचना गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पाण्डेले सरकारले “बोल्ने एकथोक, गर्ने अर्कै” प्रवृत्ति देखाएको आरोप लगाए । उनले संघीय निजामती सेवा, विद्यालय शिक्षा, र नागरिकता सम्बन्धी विधेयकहरू सरकारकै इच्छाशक्तिको अभावका कारण अड्किएको बताए ।
पाण्डेले संघीय निजामती सेवा सम्बन्धी विधेयकको लामो प्रक्रिया उल्लेख गर्दै यसलाई तत्काल कार्यसूचीमा राखी पारित गर्न सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार सो विधेयक २०८० फागुन २१ गते दर्ता भई विभिन्न चरण पार गर्दै २०८२ असार १ गते पुनः संसद्मा पेस भएको हो । तर असार ३ गते कार्यसूचीबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाए ।
“सरकारले विधेयक छिटो ल्याउने भनिए पनि व्यवहारमा त्यो देखिएको छैन,” पाण्डेले भने, “निजामती सेवासँगै विद्यालय शिक्षा र नागरिकता सम्बन्धी विधेयक पनि अघि बढ्नुपर्छ । यिनको पारितिले संघ, प्रदेश र स्थानीय सरकारका समस्या समाधानमा टेवा पुग्छ ।”
पाण्डेले प्रमुख प्रतिपक्षी दलहरू समेतले बारम्बार यी विधेयक अघि बढाउन जोड दिँदै आएको उल्लेख गर्दै तत्काल यी विधेयकलाई कार्यसूचीमा राखेर छलफल अगाडि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
























