काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारमाथि दबाव दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मंगलबार प्रतिनिधि सभाको बैठकमा वेल घेरेर नाराबाजी गरेपछि बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।
बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्ने समय दिए। उनले सरकार भिजिट भिसा प्रकरणमा मौन बसेको आरोप लगाउँदै सो विषय २०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको बताइन्। साथै, उनले सो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरिन्।
कार्कीपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो धारणा राखेका थिए। त्यसपछि पनि रास्वपाका सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुखले बैठक आजै पुनः बस्ने गरी ३० मिनेटका लागि स्थगित गरेका हुन्।
रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा दुरुपयोग प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ।