काठमाडौं । भिजिट भिसा प्रकरणमा रास्वपाले निरन्तर सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ । प्रतिनिधि सभा सुरु हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको छ। सोही मागसहित उसले संसद् अवरुद्ध गर्दै आएको हो ।
सभामुखको सचिवालयका अनुसार छलफलमा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग, र सदनको सहज सञ्चालनका उपायबारे कुराकानी भएको थियो ।
भेटपछी सभामुखले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि समन्वयात्मक छलफल जारी राखेका छन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि रास्वपाको अवरोधका कारण बैठक सुरु हुन सकेको छैन । छानबिन समिति गठनमा सरकार सकारात्मक देखिएसँगै रास्वपाले आन्दोलन फिर्ता लिने संकेत दिएको छ ।