काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा लगाएको आरोपप्रति सत्ता साझेदार नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
भिजिट भिसा प्रकरणमा मन्त्री लेखकको राजीनामाको माग गर्दै रास्वपा सांसदहरूले संसद्को वेल घेरेर नाराबाजी गरेपछि कांग्रेसकी सचेतक सुशीला थिङले त्यसप्रति नियमापत्ति जनाइन् ।
रास्वपाले ‘जनता बेच्न पाइँदैन’, ‘गृहमन्त्री राजीनामा दे’, ‘मानव तस्करलाई कारबाही गर’, ‘मानव तस्करलाई संरक्षण बन्द गर’ लगायतका नारा लगाएको थियो। त्यसै सन्दर्भमा थिङले प्रश्न उठाइन्, “मानव तस्करी भनेको कसलाई लक्षित हो? के पाँच जनालाई भिसा दिलाउन सिफारिस गर्नु नै मानव तस्करी हो?” भन्दै यसबारे स्पष्टता माग गरिन् ।
कांग्रेसले उपसभामुखको पुरानो प्रसंग कोट्यायो
गृहमन्त्रीमाथि उठेका आरोपको प्रतिवादस्वरूप कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको पुरानो प्रकरण पुनः स्मरण गराएको छ।
गत वर्ष उपसभामुख रानामगरले संसद सचिवालय वा दलसँग सम्बन्ध नराख्ने पाँच जनालाई भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूतावासमा सिफारिसपत्र लेखेकी थिइन्। पत्र सार्वजनिक भएपछि उनले सिफारिस गरेको स्वीकार गरेकी थिइन् तर गलत नियत नरहेको दाबी गरेकी थिइन्।
त्यसबेलामा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखविरुद्ध महाभियोगको तयारीसमेत गरेका थिए, तर कांग्रेसको समर्थन नपाएपछि योजना रोकिएको थियो।
हाल रास्वपाले गृहमन्त्री लेखकविरुद्ध निरन्तर आवाज उठाइरहँदा कांग्रेसले त्यसको सन्दर्भमा उपसभामुखको मुद्दा पुनः उठाएको हो।
























