काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको छलफल चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीका बीच नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदको मर्यादा माथि प्रश्न उठाएका छन् ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेत धारणा राखिरहेका बेला थापाले नियम २० को उल्लेख गर्दै संसदको वातावरणप्रति असन्तुष्टि जनाए । उनले भने, “हामी रत्नपार्कमा छौं कि शहीद गेटमा, कि कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा — बुझ्न सकिएन।”
रास्वपा सांसदहरूको नाराबाजीप्रति संकेत गर्दै उनले थपे, “कुर्सीहरू रोइरहेका छन्, माननीय सदस्यहरू भेटिन छाडिसके।”
थापा बोल्न थालेपछि केहीबेर शान्त रहेका रास्वपा सांसदहरूले फेरि नाराबाजी सुरु गरे। तर सभामुख देवराज घिमिरेले थापाको ध्यानाकर्षणलाई संज्ञानमा लिँदै उनलाई बस्न अनुरोध गरे र शक्ति बस्नेतलाई धारणा राख्न अनुमति दिए। त्यसपछि थापा बस्नुभयो भने रास्वपा सांसदहरू पनि केही समयका लागि शान्त बसे ।
यसअघि सभामुख घिमिरेले बैठक सुरु भएको घोषणा गर्दा रास्वपा र राप्रपाका सांसदहरू आ–आफ्नो स्थानबाट उठेका थिए। बैठक नरोकिएपछि रास्वपा सांसदहरू वेल अगाडि पुगेर नाराबाजी गर्न थाले भने राप्रपा सांसदहरू भने बैठक कक्षबाट बाहिरिए ।
यद्यपि संसदमा बजेटमाथिको छलफल भने निरन्तर जारी छ ।