काठमाडौं । फेसबुकमा भावनात्मक स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ काठमाडौंमा सुरक्षित अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टमा फेला परेका हुन् । अहिले उनलाई थप आवश्यक प्रक्रिया पूरा गर्न प्रहरी कार्यालय, भद्रकाली ल्याइएको छ ।
डा. श्रेष्ठ केही दिनअघि जिल्ला अस्पताल रामेछापबाट सरुवा भई बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत हेटौंडा गएका थिए । सरुवासँगै फेसबुकमा उनले आफूविरुद्ध झुटा आरोप लगाइएको र सरुवाको प्रक्रियामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको उल्लेख गरेका थिए ।
करिब २५ महिना सेवा गरेका डा. श्रेष्ठले १८ महिना रामेछाप अस्पतालमा प्रमुखका रूपमा कार्यरत रहँदा विभिन्न सुधार अभियान चालेको बताएका छन् । सुधारको क्रममा केही कर्मचारी र स्थानीय नेताहरूसँग द्वन्द्व उत्पन्न भएको उनले दाबी गरेका छन् ।
उनका अनुसार, अस्पतालको अनुशासन कायम गर्न खोज्दा आफूलाई बदनाम गर्ने, दबाब दिने र सरुवा गराउने प्रयास भएको थियो। उनले केही करार कर्मचारीलाई स्पष्टीकरण सोध्दा त्यसलाई लिएर आफ्नो विरुद्ध षड्यन्त्र र दबाब सिर्जना गरिएको बताएका छन् ।
राजनीतिक दबाबको आरोप
डा. श्रेष्ठले रामेछापका एक स्थानीय नेता केदार कार्कीमाथि व्यक्तिगत स्वार्थ पूर्ति गर्न दबाब दिएको आरोप समेत लगाएका छन् । उनले ‘३ दिनमा तेरो सरुवा नभए मेरो नाम केदार होइन’ भन्ने धम्कीसमेत पाएको दाबी गरेका छन् ।
उनका अनुसार छानबिन समितिको प्रतिवेदन नआउँदै उनलाई हतारमा २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन भनिएको थियो । हेटौंडा पुगेपछि कुनै स्पष्ट निर्देशन नदिई पुनः रामेछाप फर्कन भनिएको, र त्यो अवस्थामा १६ वटा टाँका लागेको शरीर, श्रीमती र २ वर्षीया छोरीसहित काठमाडौं आउन बाध्य भएको उनले लेखेका छन् ।
उच्च मानसिक तनावका कारण उनले आत्महत्या प्रयास गरेको समेत फेसबुक स्टाटसमा खुलासा गरेका छन् । ‘नेपालमै केही गर्छु भन्ने सपना बोकेको थिएँ, तर अहिले गहिरो पश्चाताप भइरहेको छ,’ उनले लेखेका छन् ।

























