काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग भेट गरी संसद्मा जारी अवरोधबारे छलफल गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकअघि रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार सभामुख घिमिरेसँग छलफलमा सहभागी भएका थिए । छलफलको मूल विषय संसद्मा भइरहेको रास्वपाको विरोध र त्यसको समाधानमा केन्द्रित रहेको थियो ।
गृह मन्त्रालयमा देखिएको ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको गठन हुनुपर्ने माग गर्दै रास्वपा लगातार संसद्मा अवरोध गरिरहेको छ । सभामुखले आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्दै आएका छन् भने रास्वपाले भने आफ्ना माग पूरा नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारेको छ ।
यसअघि आइतबार पनि सभामुख र रास्वपाबीच भेटवार्ता भएको थियो । दुवै भेटमा सभामुखले रास्वपालाई आन्दोलनको शैली परिवर्तन गर्न सुझाव दिएका थिए ।
रास्वपाका नेता शिशिर खनालले आफ्ना मागमा कुनै सुनुवाइ नभएको भन्दै आन्दोलन यथावत् रहने बताए । हाल पार्टीले आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेको छ । त्यसैका लागि रास्वपाका सांसदहरू नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुटिरहेका छन् ।
भिजिट भिसा प्रक्रियामा आर्थिक लेनदेन र अनियमितताको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि संसद्मा यसबारे बहस चर्किएको हो । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) भने यस विषयमा सहमति गरेर संसद्को काममा सहभागी भइरहेका छन्, तर रास्वपाले भने अझै पनि आफ्ना दुवै प्रमुख मागहरू कायम राखेको छ।
आइतबार रास्वपाका सांसदहरूले संसद्मा सवा तीन घण्टासम्म नाराबाजी गरेका थिए । आज सोमबार बिहान ११ बजे बस्ने संसद् बैठकअघि पार्टीले संघर्षको आगामी रणनीतिबारे आन्तरिक निर्णय लिने तयारी गरेको छ ।

























