काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्था, वीरगन्जको रकम अपचलन प्रकरणमा प्रहरीले अनुसन्धान पूरा गरी झण्डै एक महिनाअघि जिल्ला सरकारी वकिल कार्यालय पर्सामा प्रतिवेदन बुझाएको थियो । सोही आधारमा वकिल कार्यालयले लामिछानेसहितका व्यक्तिहरूविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको हो ।
मुद्दामा रवि लामिछानेमाथि मात्र ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँको बिगो दाबी गरिएको छ । समग्रमा, सानो पाइला सहकारीमार्फत १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन गरिएको आरोपसहित मुद्दा दायर गरिएको छ ।
सहकारीले कानुन विपरित वीरगन्ज बाहिरका व्यक्तिहरूलाई ऋण दिएको, बचतकर्ताको पैसा संस्थाका नजिकका कम्पनीहरूमा लगानी गरेर अपचलन गरिएको आरोप छ । करीब ८ सय सदस्यबाट जम्मा भएको १ अर्ब ३५ करोड रुपैयाँमध्ये ९२ करोडभन्दा बढी कार्यक्षेत्र बाहिर लगानी गरिएको बताइएको छ ।
सहकारीको रकम कार्यक्षेत्र बाहिर लगानी
– नेचर हब इन्टरनेसनललाई रु. १ करोड ३७ लाख,
– नेचर नेष्ट प्रालिलाई रु. १ करोड ८५ लाख,
– स्प्रिङ वुड रियल स्टेटलाई रु. १ करोड १ लाख कर्जा प्रवाह गरिएको विवरण अभियोगपत्रमा उल्लेख छ ।
लामिछाने अहिले भैरहवामा थुनामा
रवि लामिछाने यसअघि नै रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा छन् । सानो पाइला सहकारीका संरक्षक जीबी राईसमेत मुद्दामा प्रतिवादी रहेका छन् ।
सहकारीले ऐन विपरीतको गतिविधि गर्दै बचतकर्ताको रकम जोखिममा पारेको भन्दै पीडितले लामो समयदेखि न्यायको माग गर्दै आएका थिए । अब अदालतले उक्त मुद्दामा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।

























