काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिनिधि सभामा विरोध जारी राखिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूको नाराबाजीलाई बेवास्ता गर्दै संसद बैठक अघि बढाइएको छ ।
सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अनुसार बैठक सञ्चालन गर्दै विरोधका बीचमा पनि कार्यवाही अघि बढाएका हुन् ।
बैठक सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाए । सभामुखले उनीहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले नमानेर नाराबाजी जारी राखे ।
त्यसपछि सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । उनले नैतिकताको विषयमा बोल्न थालेपछि रास्वपाका सांसदहरू वेल अगाडि आएर नाराबाजी गर्न थाले । राप्रपाका सांसदहरू भने आ–आफ्नो स्थानमा उभिएर विरोध जनाउँदै थिए ।
सामान्यतः संसदमा कुनै सांसदले विरोध जनाएमा बैठक स्थगन गर्ने चलन रहँदै आएको छ । तर, सभामुख घिमिरेले त्यसलाई बेवास्ता गर्दै कार्यसूची अनुसार बैठक सञ्चालन जारी राखे ।
सभामुखले कांग्रेसका घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेललाई क्रमशः बोल्न समय दिए । पौडेलपछि रास्वपाका सांसद सन्तोष परियारलाई बोल्न समय दिइए पनि उनले मन्तव्य नदिएर चुपचाप बसे ।
जारी बैठकमा रास्वपाका सांसदहरूले वेल घेरिरहेका छन् भने राप्रपाका सांसदहरू भने आफू बस्ने आसन अगाडि उभिएर विरोध गरिरहेका छन् ।
























