काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र गृहमन्त्री रमेश लेखकबीच आरोप–प्रत्यारोप चलेको छ। रास्वपाले यस प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको यथेष्ट प्रमाण रहेको दाबी गरेको छ भने, गृहमन्त्री लेखकले भने आफ्नाविरुद्ध नक्कली जाहेरी तयार पारिएको आरोप लगाएका छन् ।
रास्वपाको गृहमन्त्रीमाथि गम्भीर आरोप
प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री, कर्मचारीलगायत सबैको संलग्नता यथेष्ट प्रमाणसहित प्रमाणित रहेको बताएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिकदेखि वैशाखसम्म अध्यागमनमा अनियमितता भइरहेको भन्दै गृह मन्त्रालयलाई ९ पटक पत्र काटेको जानकारी गराए ।
“९ पटक पत्र काट्दा त्यहाँ किन ध्यान दिइएन ? आज किन कागजको खोस्टामा लेखिँदैछ ?” झाँले प्रश्न गरे । उनले थपे, “अख्तियारले छानबिन गर्ने बेला भएपछि आफ्ना कर्मचारीहरूलाई रातारात किन लुकाउन तानियो ? यदि उहाँको संलग्नता थिएन भने किन ती कर्मचारीलाई तानियो ?”
सांसद झाले मन्त्रीलाई आफ्नै मन्त्रालयबारे थाहा छैन भने कसरी नेतृत्व गरिरहेका छन् भन्दै प्रश्न गरे। उनले यही मुद्दा उठाउँदा पार्टी सभापति रवि लामिछानेको ठाउँ सारी (पदस्थापन) समेत रोकिएको दाबी गरे।
गृहमन्त्रीको रास्वपामाथि प्रतिआरोप
१८ दिनपछि कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिन रोस्टममा पुगेका गृहमन्त्री रमेश लेखकले रास्वपामाथि गम्भीर आरोप लगाएका छन् । उनले आफ्नाविरुद्ध “नक्कली जाहेरीहरू” लेखेर विभिन्न ठाउँमा मुद्दा दर्ता गर्न खोजिएको आफूले थाहा पाइसकेको बताए ।
गृहमन्त्री लेखकले रास्वपाको नाम उल्लेख नगरी भने, “पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ।” उनले यस्ता “किर्ते, जालसाजी र अमर्यादित कार्य” गरेर राजनीतिक अभिष्ट पूरा नगर्न आग्रह गरे।
उनले यस्ता “अपमानजनक कार्य” र “नक्कली पीडित” खडा गर्नेलाई पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए । गृहमन्त्री लेखकले रास्वपाका सांसदहरूलाई सचेत गराउँदै भने, “तपाईं (रास्वपाका सांसद) का पार्टी कार्यालय किर्ते जालसाजीपूर्ण कार्यालय बन्दैछन् यसमा तपाईंहरू सचेत हुनुस्, किनभने तपाईंहरू सम्भावना बोकेको हुनुहुन्छ ।”