काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूबीच संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा भएको छलफल निष्कर्षविहीन भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मागमा कांग्रेसको समर्थन खोजेको थियो । तर, कांग्रेस नेताहरू माओवादीको यो आग्रहमा सहमत हुन नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिवद्वय वर्षमान पुन र शक्ति बस्नेतलगायतका नेताहरू सहभागी थिए । यता, नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता ज्ञानेन्द्र कार्की लगायतको उपस्थिति थियो ।
कांग्रेससँगको यो छलफलअघि माओवादी केन्द्रले आजै विपक्षी दलहरूको बैठक आयोजना गरेको थियो । त्यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संसदको गतिरोध अन्त्यबारे छलफल गरेका थिए ।
स्मरण रहोस्, विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन्, तर सत्तारुढ दल यसमा सहमत हुन नसक्दा संसदको गतिरोध लम्बिएको छ । यही विषयका कारण जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ । यद्यपि, जेठ १५ गते बजेट प्रस्तुतिका दिन भने विपक्षी दलहरूले संसदमा अवरोध गरेका थिएनन् । त्यसयता भने बजेटमाथिको छलफल प्रतिनिधि सभामा अगाडि बढ्न सकेको छैन, जसले गर्दा संसदीय प्रक्रियामा थप जटिलता आएको छ ।
























