विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको क्षेत्राधिकारभित्र रहेकाले कुनै टिप्पणी नगर्ने बताएका हुन ।
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरूपण गरिनुपर्नेमा थापाले जोड दिएका छन् ।
महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशनअघि नै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आ(आफ्नो निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण तथा छिनोफानो गर्नुपर्ने बताए ।
कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको बताए। महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्नेमा जोड दिए ।



















