काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले विहीबार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
यसअघि अख्तियारले पतञ्जलि योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको र मुद्दा दायरका लागि अभियोगपत्र तयार हुँदै गरेको समाचार मार्गदर्शन न्यूजडटकमले २०८१ चैत ३० गते प्रकाशित गरेको थियो ।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।
नेपाल प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदले २०६६ माघमा योगगुरु रामदेवले स्थापना गरेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका लागि हदबन्दीभन्दा बढी ८१५ रोपनी रोपनी जग्गा किन्न अनुमति दिएको थियो ।
अनुमतिलगत्तै हाल बनेपा नगरपालिकाभित्र पर्ने साँगा, नासिकास्थान र महेन्द्र ज्योति क्षेत्रमा आयुर्वेद कम्पनीले ५९३ रोपनी जग्गा खरिद गरेको थियो । उक्त जग्गामा आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेदिक औषधि उद्योग, जडीबुटी खेती, गाई फार्म चलाउने शर्तमा मन्त्रिपरिषदले हदबन्दी छुट दिएको थियो ।
जग्गा खरिद भएको ७५ दिन पनि नपुग्दै नेपाल नेतृत्वको सरकारले २०६६ चैत ६ र २६ मा उक्त हदबन्दी छुटको जग्गा बिक्रीका लागि अनुमति दिएको थियो ।
मन्त्रिपरिषले नै अनुमति दिएपछि किनिएको ५९३ रोपनीबाट पतञ्जलीले ३५४ रोपनी बिक्री गरेको तथ्य खुलेको थियो । उक्त जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेर पतञ्जलीले धुलिखेलमा ८८ रोपनी जग्गा किनेको पाइएको छ ।
हदबन्दी छुटको जग्गा खरिद र बिक्रीका लागि अनुमति दिँदा भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, मुख्यसचिव माधव घिमिरे, मन्त्रालयका सचिव छविराज पन्त थिए ।
यसअघि अख्यितारको निर्देशनपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले भक्तपुरका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले भूमी सम्बन्धी ऐन २०२१ विपरीत मन्त्रिपरिषदबाट प्राप्त अनुमतिका आधारमा हदबन्दीभन्दा बढीको जग्गा खरिद बिक्री भएको निष्कर्ष निकालेको थियो ।