काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । पार्टीका नेताहरुले गृहमन्त्री लेखकको राजीनामा दिनुपर्ने माग गरिरहेका बेला आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि एक पदाधिकारीले भने, ‘गृहमन्त्रीमाथिको आरोप मिथ्या हो । यही आरोपको आधारमा उहाँले पदबाट राजीनामा दिनुपर्छ भन्ने हुँदैन ।’
अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने ती नेताले बताए ।
पछिल्लो समय शेखरसहित इतर पक्षका नेताहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आइरहेका छन्। भिजिट भिसा प्रकरणमा पनि उनीहरूले प्रश्न उठेपछि गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने बताएका थिए ।
शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा उनीहरुको आलोचना भएको बताइएको छ । अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने एक नेताले प्रष्ट पारेका छन् ।
गृहमन्त्री रमेश लेखकले बैठकमा उक्त प्रकरणको सबिस्तार ब्याख्या गर्दै आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । लेखकले भिजिट भिसामा संलग्नमाथि निष्पक्ष छानविन गरेर कारवाही हुने पनि बताएका छन् ।