काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वत: निलम्वन भएको हो ।
सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद बस्नेतले सञ्चारमन्त्री हुँदा मन्त्रिपरिषद्ले मात्र पाउने अधिकारभन्दा वाहिर गई टेरामक्स कार्यान्वयनको निर्देशन दिएका थिए । सोहीअनुसार दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानूनविपरीत काम गरेका थिए ।
बस्नेतसहित १६ जना प्रतिवादी रहेको उक्त मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
बस्नेत निलम्बनमा परेको सूचना सभामुखले सदनलाई जानकारी गराउने छन् ।