काठमाडौँ । टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतसहित १६ जना विरुद्ध मुद्दा दायर भएको छ । तत्कालीन सञ्चारमन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित अन्य व्यक्ति तथा कम्पनी उपर ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
टेरामक्सका लागि परामर्शदाताको मुख्य काम डिजाइन, डेभलप, सप्लाई, सफ्टवेयरको स्थापना लगायतका कुनै कार्य नगरी सामान आपूर्ति गरेबापत एक अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी दिइएको थियो ।
भुक्तानी भएको रकमको अतिरिक्त सम्झौता बमोजिम दायीत्व सिर्जना भएको रकम बराबर नेपाल दुरसञ्चार प्राधिकरणलाई हानी नोक्सानी हुन गएको अख्तियारको निस्कर्ष छ ।
आर्थिक वर्ष २०७४-०७५ को बार्षिक कार्यक्रम सहमतिको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएकोमा प्राधिकरणको प्रस्तावित कार्यक्रममा समावेश नभएको टेरामक्सको विषयमा तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिए अनुसार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी सर्वोच्च अदालतबाट २०७२ माघ २१ मा जारी भएको आदेशको प्रतिकूल र प्रचलित कानुन विपरीत कार्यहरू गरी सार्वजनिक संस्था नेपाल दुरसञ्चार प्राधिकरणलाई हानि नोक्सानी गराउने कार्य गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।
मन्त्रालय तथा प्राधिकरणका कर्मचारी र पदाधिकारीहरूको राय सल्लाह नलिई र अनुसन्धान बिना नै अन्तर्राष्ट्रिय कल अनुगमन/भीओआईपी नियन्त्रणका लागि उपयुक्त उपकरण-प्रणाली (टेरामक्स) सञ्चालन गर्न वार्षिक कार्यक्रम थप गरी पदीय हस्तक्षेप गरेको पनि अख्तियारको आरोप छ ।
मुद्दा दायर भएकाहरू–
– मोहनबहादुर बस्नेत
– तत्कालीन अध्यक्ष दिगम्बर झा
– धनराज ज्ञवाली
– टीका प्रसाद उप्रेती
– तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल
– प्राधिकरणका निर्देशक विजय कुमार राय
– उपनिर्देशक रेवती राम पन्थ
– उपनिर्देशक सुरेश बस्नेत
– उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी
– उपनिर्देशक अच्युतानन्द मिश्र
– निर्देशक सुरेन्द्रलाल हाडा
– निर्देशक दिपेश आचार्य
– उपनिर्देशक संदिप अधिकारी
– परामर्शदाता जमाल अनौती
– एजेन्ट दिलीपकुमार गुरुङ
– तेजप्रसाद खरेल