काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ११.५३ अंकले घटेर दुई हजार ६५० दशमलव ११ को विन्दुमा कायम भएको हो। आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर १० अर्ब २० करोड २७ लाख रुपैयाँमा खरिदबिक्री भयो।
विकास बैंक समूह १.२७, होटल तथा पर्यटन ६.५०, जीवन बिमा शून्य दशमलव ३१, निर्जीवन बिमा शून्य दशमलव शून्य छ र व्यापार समूह शून्य दशमलव २० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ शून्य दशमलव ५१, वित्त तीन दशमलव ७२, जलविद्युत् एक दशमलव २६, लगानी एक दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव शून्य नौ र म्युचुअल फण्ड शून्य दशमलव २८ प्रतिशतको गिरावट देखिएको छ।
आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ६६ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर खरिद बिक्री भएको छ।