काठमाडौं । कोटेश्वर–तीनकुने खण्डस्थित तीनकुनेमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आज बिहान साढे ६ बजे बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२–०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु उनको भएको बताइएको छ । मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस चालक इलामको सूर्योदय नगरपालिका– ५ घर भइ काठमाडौँको काँडाघारी बस्ने ५९ वर्षीय राम कुमार खड्का र भ्यान चालक काभ्रेको मण्डन देवपुर नगरपालिका– १ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय रत्न बहादुर सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।