काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग तीन हप्ता अघि लिएको बयानले आज संसदमा चर्चा पाएको छ ।
अख्तियारले चैतमा नेकपा एसका अध्यक्ष समेत रहेका नेपालसँग उनी प्रधानमन्त्री भएका बेलाका नीतिगत भ्रष्टाचारका विषयमा वयान लिएको थियो । योगगुरु रामदेवले स्थापना गरेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद र लगत्तै बिक्रीका लागि भूमी सम्बन्धी कानुन विपरीत स्वीकृति दिएको लगायतका विषयमा अख्तियारले बयान लिएको समाचार मार्गदर्शनन्यूजडटकमले त्यही बेला प्रकाशित गरेको थियो ।
आज वैठकमा आकस्मिक समय लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेताहरुमाथि राजनीतिक प्रतिशोधका आधारमा वयान लिने, थुन्ने त भइरहेको छैन भनेर प्रश्न गरेका छन् ।
झाले भने “हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिंदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?”
यी सबै विषयलाई रास्वपाले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेको झाले बताए ।
राजनीतिक प्रतिसोधप्रति सँधै चुप लाग्न नसकिने चेतावनी दिँदै झाले भने “यो सबै कुरालाई हामीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेका छौं र गम्भीरता पूर्वक लिइराखेका छौं र सँधै चुप लाग्न सकिने अवस्था नरहन पनि सक्छ भन्ने जानकारी गराउन चाहन्छौं ।’