काठमाडाैँ । तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्रसहित २५ जनालाई जिल्ला अदालत काठमाडाैँले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
आज म्याद थपका लागि उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । यसअघि गत १४ वैशाखमा ७ दिन म्याद थपिएको थियो ।
प्रहरीले संगठित अपराध र राज्यद्रोह अनुसन्धानमा मिश्र र दुर्गा प्रसाईसहित २५ जनामाथि थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
गत चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो । जहाँ मिश्रलगायतले प्रदर्शनलाई उक्साएको आरोप लगाइएको छ ।
























