चितवन । गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ। गर्मीले कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीमा कुखुराले कम अण्डा दिन्छ। यो मौसममा रोगहरू पनि देखिन्छन्। पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ। उनले भने, ‘अझै अण्डाको उत्पादन घट्ने छ।’ गर्मी उच्च बिन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उनको भनाइ छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न कठिन भएको बताए। चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ हजार हाराहारीमा झरेको छ। गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचे र नयाँ चल्ला राख्न सकेनन्। विद्यालय, क्याम्पस खुलेर र पर्यटक बढेपछि बजारमा अण्डाको माग बढेको उनले बताए। माग बढेसँगै अण्डाको मूल्य पनि बढ्दै छ।
पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को ४६० रुपैयाँ, ठूलोको ४३५ रुपैयाँ र मिडियमको ३८५ रुपैयाँ तोकिएको छ। बजारमा मागअनुसार अण्डा नपाउँदा मूल्य क्रमशः बढेको छ। गत वर्ष प्रतिक्रेट ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो। मूल्य कम हुँदा लागत नधानेपछि धेरै किसानले अण्डा दिने कुखुरा बेच्नुपरेको थियो।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ छ। अण्डा दिने कुखुरा घट्दा र माग बढ्दा मूल्य क्रमशः बढ्ने देखिन्छ। उनले भने, ‘अण्डाको मूल्य बढेपछि किसान उत्साहित छन्।’ (रासस)

























