काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरुलाई धोका दिएर सरकारसँग आफ्नो लागि मात्र सम्झौता गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
शिक्षक आन्दोलनमा आफूहरुलाई भर्याङ मात्र बनाइएको भन्दै शिक्षक महासंघको नेतृत्वविरुद्ध विद्यालय कर्मचारीले हिजो नारावाजी गरेका थिए । परिषदले आज पत्रकार सम्मेलन गर्दै आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकेको छ भने विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको परिषदका अध्यक्ष गंगाराम तिवारीले आरोप लगाएका छन् ।
अबको आन्दोलन शिक्षक महासंघविरुद्ध हुने भन्दै परिषदले वैशाख २१ देखि सञ्चालन हुने १२ कक्षाको परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने जानकारी दिएका छन् ।
अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने अध्यक्ष तिवारीले बताएका छन् । जेठ ९ र १० गते माइतीघरमण्डलामा प्रदर्शन गर्ने र त्यसपछि दोस्रो चरणको आन्दोलन घोषणा गर्ने परिषद्ले जनाएको छ ।