काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलगायतका विपक्षी दलहरूले आफूले दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल नभएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तकै विपक्षी दलहरू उठेपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेले आफूहरूको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची नराखेकोबारे सभामुखसँग बुझ्दा सरकारका मन्त्रीहरूले समय दिन नभ्याएकाले भन्ने जवाफ पाएको भन्दै सरकार संसद्प्रति गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।
आन्दोलनरत शिक्षकसँगै पेसागत हकअधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई सरकारले बेवास्ता गरेको जनाउँदै सदनमा यस विषयमाथि छलफलका लागि प्रतिनिधिसभाको सचिवालयमा सोमबार प्रस्ताव दर्ता गराएका थिए ।
पाण्डेले आफूहरूले दर्ता गराएका जरुरी महत्वको सार्वजनिक प्रस्तावमाथि संसद्मा छलफल हुनुपर्ने माग गरेका थिए ।
प्रतिनिधिसभाको सचिवालयमा सोमबार दर्ता प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समर्थन गरेका थिए ।