काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने बताएका छन् । कांग्रेसको उद्योग तथा व्यापार विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले सो कुरा बताएका हुन ।
आगामी बजेटले निजी क्षेत्रका सवाललाई सम्बोधन गर्दै आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्दै सभापति देउवाले भने ‘आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ, यसले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास मलाई छ ।’
निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको वताउँदै सभापति देउवाले निजी क्षेत्रका समस्या समाधान गर्न कांग्रेस सधैँ तत्पर रहेको बताए । निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने अर्थतन्त्र थप बलियो हुँदै जाने वताउँदै देउवाले उद्योग र व्यापार निजी संस्थाले गर्नुपर्ने बताए ।