काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका छन् । सरकार गठन भएको दश महिनासम्म सम्पत्ति सार्वजनिक नभएकोमा उनले आपत्ति जनाए ।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले वर्तमान सरकारले जनताको निराशा र असन्तुष्टि हटाउन नसकेको आरोप लगाए । उनले सरकारले प्रतिपक्षी दलसँग प्रतिशोध साँध्ने काम गरेको बताए ।
सांसद पुनले सरकार गठनका क्रममा भनिएको संविधान संशोधनको प्रक्रिया अगाडि नबढेको टिप्पणी गरे। उनले नेपाल भूकम्पको उच्च जोखिममा रहेको उल्लेख गर्दै सम्भावित विपत्तिको पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । साथै, रुकुमपश्चिम, जाजरकोट र बझाङमा गत वर्ष गएको भूकम्पका पीडितलाई राहत र पुनर्निर्माणको कामलाई तीव्रता दिन आग्रह गरे ।
भारतको जम्मु कश्मीरमा पर्यटकलाई लक्षित हिंसात्मक आक्रमणको पुनले भर्त्सना गरे। उनले सडकमा आन्दोलनरत शिक्षकको माग पूरा गर्ने विधेयक चाँडो पारित गर्न माग गरे । सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित सङ्घीय प्रहरी विधेयक र निजामती सेवा विधेयकसहित रोकिएका विधेयक पारित गर्नुपर्नेमा उनले जोड दिए । रासस