काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाउँदा झडप भएको छ । कामपा–३२ मा पर्ने कवाडी सङ्कलन केन्द्र हटाउनको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि बिहीबार डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिएका छन् ।
उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी सङ्कलन केन्द्र हटाएर हो । “आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो”, उपरीक्षक अर्यालले भने ।
उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी सङ्कलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिएको नगर प्रहरीले जानकारी दिएको छ । स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गरेपछि हटाइएको महानगरले जनाएको छ ।
झडपका क्रममा महानगर प्रहरीका इन्ससपेक्टर ५० वर्षीय ईश्वरी वाग्लेको टाउकोमा चोट लागेको छ । कवाडी व्यवसायीको सर्लाही, रामनगर– ४ का ३५ वर्षीय होसनारायण यादवको पनि टाउकोमा चोट लागेको छ ।
घाइतेको सिभिल अस्पताल, मीनभवनमा उपचार भइरहेको बोहराले बताए । झडपमा संलग्न पक्राउ पर्नेमा रौतहट, मौलापुर– ४ घर भई कोटेश्वर बस्ने १८ वर्षका सन्जिव यादव र सर्लाही रामनगर गापा– १ का ३५ वर्षीय जोतनारायण यादव छन् । उनीहरूलाई प्रहरी बृत्त, नयाँ बानेश्वरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
यता कवाड व्यवसायी समाजले एक विज्ञप्ती जारी गर्दै महानगरले कवाडी व्यवसायीमाथि दमन गरेको आरोप लगाएको छ । समाजले कवाड व्यवसायी र संकलकमाथि भइरहेको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न सरकार र सरोकारवाला निकायसँग अनुरोध गरेको छ ।