काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको छ ।
दुई घण्टादेखि चलिरहेको बैठकमा पार्टीका नेताहरुले सरकारको कामलाई लिएर पछिल्लो समय जनाएको असन्तुष्टि र भावी रणनीतिलगायतका विषयमा छलफल भइरहेको छ ।
पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको गतिलाई लिएर लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यसमा उपसभापति पूर्णबहादुर खड्का पनि थपिएका छन् । शेखर कोइरालले विगतदेखि सरकारका कामकारवाहीलाई लिएर विपक्षी दलका नेताकै शैलीका प्रस्तुत हुँदै आएका छन् ।
महामन्त्री गगन थापाले सरकारको कामलाई लिएर असन्तुष्टि जनाएपछि कांग्रेसका नेताहरुले नै प्रतिकार गरेका छन् । गृहमन्त्री रमेश लेखकले सरकारले गरेका कामको तथ्यांक हुन चुनौती दिएका न् । उनले भनेका छन् – “पछिल्लो समय आर्थिक सूचकांक सुधारतिर गएको छ । सेवा प्रवाहमा पनि सुधार भएको छ, राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ । तथ्य र तथ्यांक हेरौं भाषणमा मात्र टिप्पणी गरेर हुँदैन ।’
त्यस्तै पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता कार्कीले महामन्त्री थापाप्रति इंगित गर्दै दर्जनौ मान्छेलाई नियुक्ति दिलाएर प्रधानमन्त्रीको वेडरुमसम्म विचौलिया पुगेको देखेछन् भन्दै महामन्त्री थापाको आलोचना गरेका छन् ।
नेताहरुमा बढेको असन्तुष्टि र वादविवादलाई मध्यनजर गर्दै सभापति देउवाले आज मन्त्रीहरुलाई सँगै राखेर असन्तुष्ट नेताहरुसँग छलफल गरेको र साझा धारणा बनाउने कोसिस गरेको एक नेताले बताएका छन् ।