काठमाडौँ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको उत्तरी सीमाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेमा केन्द्रविन्दु रहेको ५ म्याग्निच्युडको भूकम्प बिहान ४:०५ बजे गएको हो।
पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानमा लगातार भूकम्प गएको छ। केन्द्रका अनुसार मङ्गलबार बिहान ४:५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंकमा केन्द्रविन्दु रहेको ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यस्तै, सोमबार राति ९:३१ बजे पनि जाजरकोटको पैंकमा केन्द्रविन्दु रहेको ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। कुशे गाउँपालिकाको पैंकमा गएको भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन।
केन्द्रका अनुसार गत चैत २१ गते साँझ ८:०७ बजे र ८:१० बजे सोही स्थानमा केन्द्रविन्दु रहेर दुई पटक भूकम्प गएको थियो। पहिलो भूकम्प ५.२ म्याग्निच्युड र दोस्रो ५.५ म्याग्निच्युडको थियो। ती भूकम्पबाट केही घरमा सामान्य क्षति भएको थियो।
यसअघि चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो भने चैत १२ गते हुम्लामा केन्द्रविन्दु रहेर ४.५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको वेबसाइटमा उल्लेख छ। (रासस)