काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको र उनको जिउज्यान खतरामा रहेको भन्दै मानव अधिकार आयोग गुहारेको छ ।
रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा आयोगलाई बुझाएको ज्ञापनपत्रमा हुलहुज्जत र दलबलसहित गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी रविलाई अभद्र व्यवहार र घरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रियतासमेत अबलम्बन नगरी पक्राउ गरेको दावी गरिएको छ ।
उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रुपमा घर सिल गरेर मानव अधिकार उल्लंघन गरेको भन्दै आयोगले छानबिन गरेर आवश्यक कामकारवाही अगाडि बढाउने अपेक्षा रास्वपाले गरेको छ ।
प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीसहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन् । रविको जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न निवेदनमा माग गरिएको छ ।
निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दैै बुर्लाकोटीले भने ‘राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गर्न खोज्यो । सामान्य प्रक्रिया पनि पूरा नगरी राजयसंयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउनेगरी राजयसंयन्त्र उत्रियो। यसको घोर भर्त्सना गर्दछौँ ।’
गत शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरी लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उनलाई शुक्रबार नै प्रहरीले निवासमा पुगेर पक्राउ गरेर भैरहवा पुर्याएको थियो । रवि हाल हिरासतमा छन् ।