बुटवल । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला कारगार भैरहवा चलान गरिएको छ । शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सरकारी विदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार चलान गरिएको हो । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् ।
रविलाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको कारागार प्रशासकले जानकारी दिएका छन् । भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू छन् भने ३ नम्बर ब्लक महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक ४ मा १० जना कैदी बस्ने क्षमता छ । तर, अहिलेसम्म उक्त ब्लकमा अन्य कैदी तथा थुनुवा नरहेको बताइएको छ ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।