काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।
शुक्रवार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु सहभागी भएनन् । कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिव डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरु नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन ।
उनले शिक्षकहरुले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहनुभएको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरु नआएको बताइन ।
उनले सरकार शिक्षा ऐन ल्याउनका लागि लचिलो रहेको भन्दै वार्तामा सहभागी हुन आह्वान गरेकी छिन । सरकारले शिक्षकका मागहरुलाई दृढताका साथ सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाइन ।